
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तय भएको छ। उनी १४ भदौमा बेइजिङ प्रस्थान गरी १५ र १६ भदौमा तियानचिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुनेछन्।
बेइजिङस्थित नेपाली राजदूत कृष्णबहादुर ओलीका अनुसार भ्रमणको तयारी परराष्ट्र मन्त्रालयमार्फत भइरहेको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भ्रमण तयारी प्रारम्भिक चरणमा रहेको र तयारी पूरा भएपछि औपचारिक घोषणा गरिने बताए।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुने सम्भावना छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन चियानका अनुसार यस सम्मेलनमा २० भन्दा बढी मुलुकका शीर्ष नेता र १० अन्तर्राष्ट्रिय संगठनका प्रमुख सहभागी हुनेछन्।
नेपाल एससीओको ‘डायलग पार्टनर’ मुलुक हो। प्रधानमन्त्री बनेपछि ओलीको यो दोस्रो चीन भ्रमण हुनेछ। गत वर्ष मंसिरमा उनले चीनको औपचारिक भ्रमण गर्दै ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर गरेका थिए, तर परियोजनाहरूमा प्रगति हुन सकेको छैन।
प्रधानमन्त्री ओलीले ३१ भदौदेखि भारत भ्रमण गर्ने तयारी पनि भइरहेको छ, जसको लागि भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री आगामी आइतबार काठमाडौं आउँदै छन्।