Join our Channel

आर्मीलाई टाइब्रेकरमा हराउँदै एपीएफ फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने

सशस्त्र प्रहरीको एपीएफ महिला फुटबल क्लब ले झापा महिला गोल्डकपमा त्रिभुवन आर्मी फुटबल क्लबलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई ४–२ गोलले हराएको हो।

अब एपीएफले कार्तिक २४ गते नेपाल पुलिस क्लबसँग उपाधिका लागि फाइनल खेल्ने भएको छ।

दर्शकले भरिएको मैदानमा आर्मीले खेलको ६३औँ मिनेटमा अग्रता लिएको थियो। डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना राना मगरबीचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाइन्।

तर, इन्ज्युरी समयमा कप्तान अनिता बस्नेतको उत्कृष्ट फ्रिकिक गोल मार्फत एपीएफले खेललाई बराबरीमा ल्यायो। निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकरमा एपीएफका सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे भने आर्मीकी गोलकिपर कोपिला खड्काले रेणुका हमालको प्रहार बचाइन्।

आर्मीका तर्फबाट विमला बिक र अनिता लम्जेलले मात्रै गोल गर्न सफल भए। तर, विमला चौधरी र सुस्मिता चौधरीका प्रहार एपीएफकी गोलकिपर अञ्जना राना मगरले रोकिदिइन्।

खेलभर दुवै टोलीले एकअर्काको गोलपोस्टमा निरन्तर दबाब सिर्जना गरे। पहिलो हाफमा एपीएफकी सरुँ लिम्बु र कप्तान अनिता बस्नेतको प्रयास गोलमा परिणत हुन सकेन। आर्मीकी तुलसा बोहोरा र विमला चौधरीको संयोजन पनि सफल हुन सकेन।

दोस्रो हाफमा खेल अझ तीव्र बनेको थियो। एपीएफकी रश्मिकुमारी घिसिङले ५८औँ मिनेटमा दुई डिफेन्डरलाई छल्दै लिएको सट आर्मीकी गोलकिपर कोपिला खड्काले बचाइन्।

एपीएफकी गोलकिपर अञ्जना राना मगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन्।

प्रतियोगिताको विजेता टोलीले १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, र अन्य उत्कृष्ट खेलाडीहरूलाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ।

Leave a comment