
ठगी र आपराधिक विश्वासघात सम्बन्धी अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एकजना पूर्वसहसचिवलाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार पक्राउ पर्ने व्यक्ति हुन् — नेपाल ट्रष्ट कार्यालय दरबारमार्गका तत्कालीन सहसचिव तथा भरतपुर महानगरपालिका–१५ निवासी ६६ वर्षीय लेखबहादुर कार्की।
प्रहरी अनुसन्धान अनुसार, नेपाल ट्रष्टको नाममा दर्ता भएको काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित जग्गा लिजमा दिने–लिने क्रममा गैरकानुनी गतिविधि भएको पाइएको हो।
नेपाल ट्रष्ट कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालि बीच भएको उक्त लिज सम्झौता बदनियतपूर्वक गरिएको सीआईबीले जनाएको छ।
प्रहरीका अनुसार, उक्त प्रक्रियामा नेपाल ट्रष्ट कार्यालयलाई दीर्घकालीन आर्थिक हानी नोक्सानी हुने गरी ठगी र विश्वासघात गरिएको र सो क्रममा सरकारी कर्मचारी, पदाधिकारी र अन्य सहयोगीहरूले समेत अनुचित लाभ लिएको खुलासा भएको छ।
सीआईबीले यस घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।