
अरब सागरमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण देशभर मौसम परिवर्तनको क्रम जारी रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका अधिकांश पहाडी भू–भागमा बादल लाग्ने सम्भावना रहेको छ भने तराई भू–भागमा आंशिक बदली रहनेछ।
महाशाखाले दिएको जानकारीअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
रातीको समयमा पनि देशभर आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ। विशेषगरी उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
हाल अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै गए पनि पश्चिमी वायु सक्रिय रहँदा केही दिन मौसममा उतारचढाव रहने अनुमान गरिएको छ।