
भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। लगातारको वर्षासँगै पहिरो जाँदा तातोपानी नाका हुँदै सञ्चालन हुँदै आएका कन्टेनर ढुवानीसमेत ठप्प भएको छ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार पहिरो भोटेकोसी–२ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङ क्षेत्रमा गएको हो।
राईका अनुसार पहिरो पन्छाउने काम जारी रहेपनि, अहिले सडक पूर्ण रूपमा बन्द छ। सडक भासिएको कारणले गर्दा तातोपानी नाकाबाट चल्ने सम्पूर्ण कन्टेनर ढुवानीसमेत रोकिएको जनाइएको छ।
तीन घरमा क्षति, स्थानीय बासिन्दा विस्थापित
यसैबीच, अविरल वर्षासँगै भोटेकोसी–२ को लिपिङ बजार क्षेत्रमा पनि ठूलो पहिरो गएको छ। उक्त घटनामा पदम श्रेष्ठ, फूलमाया तामाङ र सुनिता श्रेष्ठको घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।
क्षतिग्रस्त घर परिवारलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ भने स्थानीय प्रशासन र सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन्।