
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबाट धम्की पाएको खुलासा गरेकी छन्। पत्रकार दिलभूषण पाठकसम्बन्धी समाचार नागरिक र रिपब्लिका दैनिकमा बिहीबार प्रकाशित भएपछि मन्त्री राणा आक्रोशित हुँदै फोनमार्फत ज्ञवालीलाई गालीगलौज गर्दै धम्क्याएको खबर बाहिरिएको छ।
ज्ञवालीका अनुसार, मन्त्री राणाले आफ्ना स्वकीय सचिव कमल रावलको ह्वाट्सएप नम्बरबाट दिउँसो १:५३ बजे फोन गरी नेपाल रिपब्लिक मिडिया र यसको सञ्चालकहरूलाई “धराशयी बनाइदिने” चेतावनी दिएकी थिइन्।
हिल्टन होटल प्रकरण र पत्रकार पाठकमाथिको कारबाही
समाचारको मूल विषय भने काठमाडौंस्थित हिल्टन होटलको सेयर प्रकरण हो, जहाँ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री राणाका छोरा जयवीरको संलग्नता उल्लेख गरिएको थियो। सोही विषयमा जयवीर देउवाले उजुरी दिएका आधारमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भइसकेको छ। पाठकले चलाएको युट्युब च्यानल दर्ता नभएको भन्दै साइबर ब्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही अगाडि बढाएको हो।
प्रतिक्रिया र गम्भीर चिन्ता
समाचार सार्वजनिक भएपछि मन्त्री राणा समाचार हटाउन दबाब दिँदै ज्ञवालीसँग करिब चार मिनेटसम्म एकतर्फी गालीगलौजमा उत्रिएको बताइएको छ। ज्ञवालीले आफूलाई सो समाचारबारे जानकारी नभएको स्पष्ट गर्दा पनि मन्त्रीले गाली गर्न नछोडेको जनाइएको छ।
यो घटनाबारे निर्देशक ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, मानव अधिकार आयोग लगायत अन्तर्राष्ट्रिय संस्थाहरू फ्रिडम फोरम, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स, रिपोर्टर्स विथआउट बोडर्स, युएन वुमन, र नेपालस्थित युनेस्को कार्यालयमा औपचारिक जानकारी दिएकी छिन्।
नेपाल रिपब्लिक मिडियाले मन्त्री राणाको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।