
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का संस्थापक डा. बाबुराम भट्टराईले संसद् पुनर्स्थापनाको मुद्दामा अल्झिनुको कुनै अर्थ नरहेको बताएका छन्।
शुक्रबार गोरखामा पत्रकारहरूसँग कुरा गर्दै उनले आन्दोलनको बलमा उत्पन्न विशिष्ट परिस्थितिमा चालिएको कदमको विपक्षमा उत्रिनुको औचित्य नरहेको स्पष्ट पारे।
भट्टराईले भने, “आन्दोलनको बलमा उत्पन्न विशिष्ट परिस्थितिमा संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न जुन कदम चालिएको हो, यो अहिलेको आवश्यकता हो। आवश्यकताको सिद्धान्तमा टेकेर गरिएको निर्णयको विरुद्धमा पर्ने मुद्दाहरूलाई हेर्नु उपयुक्त हुँदैन।”
उनका अनुसार संसद् पुनर्स्थापनाले समस्या समाधान नगर्ने बरु झन् गिजोलिने अवस्था सिर्जना गर्नेछ। उनले निहित स्वार्थका कारण सचेत वर्गले समस्या गिजोल्यो भने परिस्थिति बिग्रने र अवाञ्छित तत्त्वहरूले मौका पाउने चेतावनी पनि दिए।
भट्टराईले परिवर्तनकारी आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन सबै शक्ति र राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार हालको सरकारको तत्काल विकल्प खोज्नु यथार्थपरक हुनेछैन।