
नेपालमा निरन्तर परिरहेको वर्षाले विभिन्न भागमा बाढी र पहिरो ल्याएको छ जसका कारण देशभरका ६ स्थानमा प्रमुख राजमार्गहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। यसले देशभरको यातायात प्रणालीमा ठूलो प्रभाव पारेको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार, ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो जाँदा कान्ति लोकथप सडक बिहानैदेखि अवरुद्ध भएको छ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको तीन स्थान — वडा नं २ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीले विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लबामा खसेको पहिरोले कालीगण्डकी करिडोर पूर्ण रूपमा बन्द गराएको छ भने, जुम्लाको सिंजा क्षेत्रमा पहिरो खसेर जुम्ला–मुगु सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा रहेको रवि–राके–भेडेटार सडक पनि पहिरोका कारण एकतर्फी मात्र संचालन भइरहेको प्रहरीले जानकारी दिएको छ।
सडक खुलाउने प्रयास जारी
प्रहरी प्रधान कार्यालयले अवरुद्ध रहेका सबै सडकहरू यथासिघ्र खुलाउने कार्यमा प्राविधिक टोली परिचालन गरिएको जनाएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा गर्दा सावधानी अपनाउन समेत अनुरोध गरिएको छ।