Join our Channel

बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

जल तथा मौसम पूर्वानुमान महाशाखाले बागमती प्रदेशसहित देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा र तराईका केही भागहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुनसक्ने छ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायतका पहाडी भू–भागमा वर्षा अझै व्यापक हुने अनुमान गरिएको छ। विशेष गरी बागमती प्रदेशका पहाडी क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना उच्च रहेको मौसमविद्हरूको भनाइ छ।

महाशाखाले सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, गेग्रान बहाव र डुबानको जोखिम रहेको उल्लेख गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। ठूला–साना नदी, खोलामा पानीको सतह बढ्ने भएकाले बाढीको जोखिम पनि उच्च हुने देखिन्छ।

साथै, भारी वर्षाका कारण सामान्य जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सर्वसाधारण, स्थानीय प्रशासन, यातायात, उद्धार निकाय तथा सम्बन्धित क्षेत्रहरूलाई सतर्क रहन अपील गरिएको छ।

Leave a comment