Join our Channel

बागमतीका निलम्बित मेयर भरतकुमार थापा दोषी ठहर, १ वर्ष कैद र ३ करोडभन्दा बढी जरिवाना

बागमतीका निलम्बित मेयर भरतकुमार थापा दोषी ठहर, १ वर्ष कैद र ३ करोडभन्दा बढी जरिवाना

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहरसहित विशेष अदालतबाट सजाय पाएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार मेयर थापालाई एक वर्ष कैद र ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा जरिवानाको सजाय सुनाएको हो।

अदालतले थापा र उनको परिवारको आय र व्यय विवरण विश्लेषण गर्दा कूल आय ९ करोड १४ लाख ३१ हजार ३ रुपैयाँ ९१ पैसा भए पनि कूल खर्च १२ करोड ५९ लाख ५३ हजार ३९१ रुपैयाँ १४ पैसा देखिएको जनाएको छ। यस आधारमा थापाको आयभन्दा ३ करोड ४५ लाख २२ हजार रुपैयाँ बढी खर्च देखिएको र यो रकम गैरकानुनी रूपमा आर्जन गरिएको ठहर अदालतले गरेको हो।

भ्रष्टाचार निवारण ऐन अनुसार सजाय

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम कसूर प्रमाणित भएकाले सोही ऐन अनुसारको सजाय सुनाइएको हो। फैसलामा भनिएको छ, “प्रतिवादीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले एक वर्ष कैद र गैरकानुनी सम्पत्तिको बराबर जरिवाना लाग्ने ठहर्छ।”

थप सम्पत्ति जफत गर्ने आदेश

साथै, अदालतले थापासँग गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिबाहेक अरु पनि संकलित सम्पत्तिहरू जफत गर्न आदेश दिएको छ। यस फैसलासँगै भ्रष्टाचारमा संलग्न स्थानीय तहका जनप्रतिनिधिहरूमाथि कारबाहीको सन्देश गएको विश्लेषण गरिएको छ।

Leave a comment