Join our Channel

सुदूरपश्चिममा तीन दिनदेखि अविरल वर्षा, किसानलाई राहत

सुदूरपश्चिममा तीन दिनदेखि अविरल वर्षा, किसानलाई राहत

सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखि लगातार झरी परिरहेको छ। मनसुन सुरु भएको लामो समयपछि आएको यो निरन्तर वर्षाले किसानहरूलाई राहत दिएको छ। विशेषगरी धान, मकै, कोदो र उखुजस्ता बर्षेबाली खेतीमा अब वर्षाले नयाँ आशा दिएको छ।

कृषि ज्ञान केन्द्र कैलालीका सहायक कृषिप्रसार अधिकृत मदनराज जोशीका अनुसार, समयमै पानी नपरेर चिन्तित किसानहरू अहिले राहत महसुस गरिरहेका छन्। उनका अनुसार, “यस वर्ष रोपाइँ अलिक छिट्टै सुरु भए पनि वर्षा नहुँदा कृषक चिन्तित थिए, अब भने निरन्तर पानी परेमा धानबाली राम्रो हुने सम्भावना छ।”

जल तथा मौसम विज्ञान कार्यालय, अत्तरियाका प्रमुख सञ्जयकुमार शाहका अनुसार, अबको केही दिन भारी वर्षाको सम्भावना कम भए पनि हल्का र मध्यम वर्षा भइरहने छ। शाह भन्छन्, “मध्यम वर्षाले अझै किसानहरूलाई सहयोग पुग्नेछ।” सुदूरपश्चिमका तराई र पहाडी जिल्लामा पानी परिरहेको उनले बताए।

उनका अनुसार, यो वर्षको मनसुन नेपालमा जेठ १५ गते नै सुरु भएको थियो। यद्यपि कमजोर प्रणालीका कारण त्यसले विस्तार लिन पाएन। दोस्रो चरणमा जेठ २९ गते मनसुन पुन: सक्रिय भयो र असार ६ गतेबाट देशभर फैलिएको हो।

यद्यपि मनसुन सुरु भएयता साउनको दोस्रो सातासम्म खासै वर्षा नभएपछि किसानहरूमा चासो बढेको थियो। तर अहिले देशभर भइरहेको झरीले आशा बढाएको छ। पूर्वी तराईमा समेत रोकिएको धान रोपाइँ फेरि सुरु भएको कृषि कार्यालयले जनाएको छ।

यसैबीच, कैलाली र कञ्चनपुरका केही नदीहरूको सतह सतर्कता तह नजिक पुगेको मौसम कार्यालयले जनाएको छ। बुधबार बिहान महाकाली नदीको सतह ६.३५ मिटर मापन गरिएको थियो, जुन सतर्कता तह ६.८ मिटरभन्दा केही कम हो। यद्यपि वर्षा कम हुँदै गएपछि नदीको सतह घट्दै गएको छ।

पथरैया नदीको सतह पनि ४.४४ मिटर पुगेको थियो, जुन सतर्कता सतह ४.५० मिटर हो। चुरे गाउँपालिकाको गर्भा दरबार क्षेत्रमा सबैभन्दा बढी १३३.४ मिमी वर्षा भएको छ। धनगढी र अत्तरियामा क्रमशः ६२.६ र कञ्चनपुरको दोधारा चाँदनीमा ९२.८ मिमी पानी परेको छ।

यस निरन्तर वर्षाले खेतीपातीमा त सहजता ल्याएको छ नै, साथै जल स्रोतहरूको सतह बढ्दै गएपछि संभावित बाढीको जोखिमलाई पनि नियाल्नुपर्ने अवस्था देखिएको छ।

Leave a comment