Join our Channel

बैतडीमा जात्राबाट फर्किँदै यात्रु बोकेको जिप दुर्घटना, एकको मृत्यु, चार घाइते

बैतडीमा जात्राबाट फर्किँदै यात्रु बोकेको जिप दुर्घटना, एकको मृत्यु, चार घाइते

बैतडीमा यात्रु बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्लाको शिवनाथ गाउँपालिका–५ सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ आइरहेको से १ ज ७३२ नम्बरको जिप बुधबार राति करिब ११ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा मेलौली नगरपालिका–२ की २३ वर्षीया तुलसी पाण्डेयको मृत्यु भएको हो। उनलाई गम्भीर घाइते अवस्थामा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।

उक्त जिपमा सवार हरि पाण्डेय (३४), ओम पाण्डेय (२८), डम्बरदत्त पाण्डेय (६५)दशरथचन्द नगरपालिका–७ का चालक जनक बडू (३२) घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार, जिपमा पाँच जना मात्र सवार थिए। जिप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको बताइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले जानकारी दिए।

उक्त जिपमा बुधबार सम्पन्न शिवनाथ धाममा लागेको जात्रा हेरेर फर्किरहेका यात्रुहरू सवार रहेको प्रहरीले जनाएको छ।

Leave a comment