Join our Channel

वडाध्यक्षको आक्रोश : विकासका काममा बेवास्ता भएको भन्दै वडा कार्यालय नै बन्द

वडाध्यक्षको आक्रोश : विकासका काममा बेवास्ता भएको भन्दै वडा कार्यालय नै बन्द

रोल्पाको थबाङ गाउँपालिका–२ की वडाध्यक्ष अभिलाषा रोका मगरले गाउँपालिकाको विकासमा देखिएको उदासीनता र जनगुनासोमा बेवास्ता गरिएको भन्दै वडा कार्यालय नै बन्द गरेकी छन्। उनले कार्यालयको साँचो (चाबी) गाउँपालिकालाई बुझाउँदै माग पूरा नभए राजीनामा दिने चेतावनी दिएकी छन्।

वडाध्यक्ष रोकामगरका अनुसार, गाउँपालिकाभित्र पर्ने ग्रामीण सडक लामो समयदेखि अवरुद्ध हुँदा पनि सञ्चालनमा नआउनु, केन्द्रीय विद्युत् प्रसारण लाइनको कार्यमा निरन्तर ढिलासुस्ती हुनु, र स्थानीय विकास निर्माणका काममा चासो नदेखाउनु मुख्य कारण हुन्।

उनले भनिन्, “जनताको माग र गुनासोमा गाउँपालिकाले ध्यान नदिँदा म पनि जनताको पक्षमा उभिन बाध्य भएको छु। गाउँपालिकाले तत्काल समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्छ।”

कात्तिक १३ गतेदेखि वडा कार्यालय बन्द गरिएको र साँचो गाउँपालिकामा बुझाइएको उनले जानकारी दिइन्। उनका अनुसार, यदि मागहरू तत्काल पूरा नभए आफूले वडाध्यक्ष पदबाटै राजीनामा दिने निर्णय लिइसकेकी छन्।

उता, थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बूढा मगरले भने आफूलाई घटनाबारे हालसम्म कुनै जानकारी नभएको बताए। “म अहिले पालिकाको केन्द्रभन्दा बाहिर छु, त्यहाँ पुगेपछि मात्रै विस्तृत जानकारी लिन्छु,” उनले प्रतिक्रिया दिए।

Leave a comment