
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनियमितताको उजुरी परेको छ। ‘एक देशभक्त नागरिक’ भनेर परिचय दिएका युवराज सफलले करोडौँ रुपैयाँको लिफ्ट बिना टेन्डर जडान गरिएको भन्दै उजुरी दर्ता गराएका हुन्।
सफलले उजुरीमा उल्लेख गरेअनुसार केही महिनाअघि काठमाडौं महानगरमा करिब एक करोड रुपैयाँ बराबरको लिफ्ट प्रतिस्पर्धाविनै जडान गरिएको छ। उनले लिफ्ट खरिद गर्दा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ विपरीत प्रक्रिया अपनाइएको दाबी गरेका छन्।
उक्त लिफ्ट प्रमुख रूपमा मेयर बालेन्द्र साहकै प्रयोगका लागि जडान गरिएको महानगरभित्रैको स्रोतलाई उद्धृत गर्दै उजुरीमा उल्लेख गरिएको छ। सफलले नयाँ लिफ्ट जडानको विरोध नभए पनि खरिद प्रक्रिया पारदर्शी नहुनु आपत्तिजनक भएको जनाएका छन्।
उजुरीमा भनिएको छ, “सरकारी वा सार्वजनिक निकायले कुनै पनि सेवा वा निर्माण कार्य गर्दा बोलपत्र आव्हान गर्नु कानुनी बाध्यता हो। यस्तो अवस्थामा बिना टेन्डर गरिएको खरिद कार्यले भ्रष्टाचार र अनियमितताको आशंका बढाउँछ।”
सफलले अख्तियारसँग लिफ्ट जडानसम्बन्धी सबै कागजातहरू – टेन्डर प्रक्रिया, निर्माण कम्पनी विवरण, भुक्तानी फाइल, बिल, भौचर आदि – झिकाई सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गरिदिन आग्रह गरेका छन्।