
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपति रामचन्द्र पौडेललाई तत्काल संसद विघटन गरी अन्तरिम/चुनावी सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका हुन्।
बालेनले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन जनाएका छन्। उनले भने, “यो अन्तरिम सरकारको मुख्य काम नयाँ चुनाव गराउने र जनतालाई नयाँ जनादेश दिने हो। त्यसकारण सुशीला कार्कीको नेतृत्वप्रति मेरो पूर्ण समर्थन छ।”
उनले जेनजी आन्दोलनलाई ऐतिहासिक मोडमा रहेको भन्दै धैर्य र एकताको खाँचो रहेको पनि उल्लेख गरे। बालेनका अनुसार अहिले नै नेतृत्वमा आउन हतार गर्नेहरूलाई चुनावसम्म पर्खनु उपयुक्त हुने बताउँदै, “तपाईँहरूको जोश, तपाईँहरूको सोच र इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन,” भनेका छन्।
बालेनले राष्ट्रपति पौडेललाई सम्बोधन गर्दै लेखेका छन्, “Gen Z ले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न संसद विघटन गरी अन्तरिम सरकार गठन गर्न अविलम्ब कदम चाल्न जरुरी छ।”
यसअघि जेनजी आन्दोलनरत युवाहरूले पनि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न माग गरेका थिए।