
बैंकिङ कसुरमा दोषी ठहर भएका हरिसिंह पालीलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरेको छ। कैलाली जिल्ला अदालतबाट सजाय पाएका पालीलाई फरार रहेकै अवस्थामा पक्राउ गरिएको हो।
डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ निवासी २७ वर्षीय पालीलाई प्रहरीले तुफानडाँडाबाट शुक्रबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले अदालतको फैसला कार्यान्वयनका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
पालीमाथि जिल्ला अदालत कैलालीले २०८० साल फागुन २९ गते बैंकिङ कसुरसम्बन्धी मुद्दामा १० दिन कैद र २ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। अदालतको फैसलापछि उनी फरार रहेका थिए भने प्रहरीले उनको निगरानी गर्दै आएको थियो।
हाल उनलाई सम्बन्धित जिल्ला अदालतको आदेशअनुसार थप कारवाहीका लागि बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।