
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ब्रिटिस गोर्खा सैनिकहरूको इतिहास सम्पूर्ण नेपालीको गौरव भएको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित “सुगौली सन्धि र नेपालमा नागरिकता : ब्रिटिस गोर्खा वंशजको नागरिकता निरन्तरता” पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले गोर्खा सैनिकहरूको साहस, मेहनत, प्रतिबद्धता र अनुशासनको विश्वभर प्रशंसा हुने गरेको बताए।
“प्रथम र द्वितीय विश्वयुद्धमा गोर्खा सैनिकले बेलायतलाई ठूलो योगदान दिए। आज पनि नेपालीहरु ब्रिटिस सेनामा सेवा गरिरहेका छन्। गोर्खा फौज नेपाल–बेलायत सम्बन्धको महत्वपूर्ण आधार बनेको छ,” सभापति देउवाको भनाइ थियो।
देउवाले गोर्खा सैनिकहरूले समान पेन्सन र सेवा सुविधा पाउनुपर्ने माग उचित भएको बताउँदै आफूले बेलायती अधिकारीहरूसँग पनि सो विषयमा धारणा राखेको जानकारी दिए।
“ब्रिटिस गोर्खा सैनिकलाई अन्य ब्रिटिस सैनिकसरह सेवा–सुविधा दिनुपर्छ भन्ने पक्षमा म स्पष्ट छु,” उनले भने, “उनीहरूले नेपाली नागरिकताको निरन्तरताको माग उठाइरहेका छन्, यसमा राजनीतिक दलहरूले सहमति बनाउँदै निष्कर्षमा पुग्नुपर्छ।”
कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले वर्तमान विश्व परिस्थितिअनुसार नेपालको नागरिकता नीति व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। त्यस्तै, प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अब नागरिकता बाबुआमा दुवैको नामबाट लिन सकिने कानुनी व्यवस्था भएको जानकारी गराए।
पुस्तकका लेखक वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले गोर्खा फौजमा भर्ती भएर मानार्थ बेलायती नागरिक बनेका व्यक्तिहरूलाई नेपाली नागरिकताबाट वञ्चित गरिन नहुने तर्क प्रस्तुत गरे।