Join our Channel

आज भाइटीका : उत्तम साइत बिहान ११:३९ बजे

आज भाइटीका : उत्तम साइत बिहान ११:३९ बजे

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ।
आजका दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै भाइटीका मनाउँछन्।

उत्तम साइत बिहान ११:३९ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीका आज दिनभर लगाउन कुनै बाधा छैन।
तर, साइतमै टीका लगाउन चाहनेका लागि बिहान ११:३९ बजेको ‘अभिजित् मुहूर्त’ उत्तम मानिएको छ।
समितिका अनुसार यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ फर्की, टीका ग्रहण गर्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्नेछ।

धार्मिक मान्यता र विधि

भाइटीका दिवसलाई ‘यम द्वितीया’ पनि भनिन्छ।
शास्त्रीय मान्यता अनुसार दिदीबहिनीले दाजुभाइको पूजा गर्दा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुन्छ।

आजको दिनमा दिदीबहिनीले

  • लक्ष्मीपूजाका दिन स्थापन गरिएको दियो, कलश र गणेशको पूजा गर्छन्,
  • अष्टदलमा अष्ट चिरञ्जीवी (मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम),
    साथै चित्रगुप्त, यमराज, यमुना र धर्मराज आदि देवताको पूजा आराधना गरी
    दाजुभाइलाई तेलको धाराले छेकेर पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिन्छन्।

टीकामा रातो, सेतो, पहेँलो, हरियो र निलो गरी पाँच रंगको प्रयोग शास्त्रसम्मत मानिन्छ।

मिष्ठान्न र उपहारको परम्परा

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई
ओखर, कटुस, मरमसला, सेलरोटी र मिठाइ दिने गर्छन्।
दाजुभाइले पनि गच्छेअनुसार कपडा, दक्षिणा र सौभाग्यका प्रतीक उपहार दिई सम्मान व्यक्त गर्छन्।

तिहारको मुख्य आकर्षण

भाइटीका दिवसले दाजुभाइबीचको सम्बन्धलाई अझ मजबुत बनाउने मान्यता रहेको छ।
देश–विदेशमा रहेका नेपालीहरू पनि यस अवसरमा परिवारसँग भेटघाट गर्दै सामाजिक, धार्मिक र पारिवारिक एकताको प्रतीकका रूपमा यो पर्व मनाइरहेका छन्।

Leave a comment