
दैलेख जिल्लामा मिथेन ग्यास फेला परेको समाचारले अहिले नेपाल मात्रै होइन, छिमेकी भारतको मिडियामा समेत व्यापक चर्चा पाएको छ। खानी तथा भूगर्भ विभागले सार्वजनिक गरेको प्रारम्भिक अध्ययनअनुसार दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ठूलो मात्रामा प्राकृतिक ग्यास (मिथेन) रहेको पुष्टि भएको छ।
भारतीय समाचार संस्था पीटीआई (PTI) ले “पश्चिम नेपालमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार फेला” शीर्षकमा समाचार प्रकाशन गरेपछि इन्डिया टिभी, नवभारत टाइम्स, र अन्य प्रमुख मिडियाले यसलाई प्राथमिकता दिँदै समाचार बनाए।
इन्डिया टिभी ले त समाचारलाई झन् रोचक बनाउँदै “नेपाल मालामाल बन्दैछ” भनेर लेखेको छ। समाचारमा भनिएको छ, “नेपालले यस्तो ग्यासको भण्डार फेला पारेको छ, जसले ५० वर्षसम्म ग्यासको अभाव महसुस गर्नुपर्ने छैन।”
नवभारत टाइम्स ले “चीनले नेपालमा गाडिएको अर्बौं डलरको खजाना फेला पार्यो” भन्दै शिर्षक बनाएको छ। यस्ता शीर्षकहरूले नेपालको ग्यास सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चासोको विषय बनाएको छ।
के साँच्चै नेपाल धनी बन्दैछ?
चीनको चाइना जिओलोजिकल सर्भे र सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनी ले संयुक्त रूपमा दैलेख क्षेत्रमा अन्वेषण गरिरहेका छन्। प्रारम्भिक प्रतिवेदनअनुसार ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास भेटिएको उल्लेख छ। अझै तीन अन्य स्थानमा पनि मिथेन ग्यास रहेको आशंका गरिएको छ।
तर विज्ञहरू भन्छन् — “यसबाट नेपाल तत्काल धनी हुन्छ भन्ने बुझाइ गलत हो।”
खानी तथा भूगर्भ विभागका सूचना अधिकारी डा. मुकुन्द भट्टराई भन्छन्, “यो ग्यास इन्धनका रूपमा प्रयोग गर्न सकिने कच्चा पदार्थ हो। तर व्यावसायिक उत्पादन सम्भव छ कि छैन भन्ने कुराको निणर्य अन्तिम प्रतिवेदनपछि मात्र हुनेछ।”
चिनियाँ विज्ञहरूद्वारा गरिएको परीक्षणको अन्तिम प्रतिवेदन सन् २०२५ को डिसेम्बर महिनामा आउने अपेक्षा गरिएको छ।