
इजरायल–हमासको पहिलो चरणको युद्धविराम सम्झौतापछि २० बन्धक जीवित रहेका पुष्टि भएको छ, तर नेपाली बन्धक विपिन जोशीको स्थिति अझै अज्ञात रहेको छ।
अक्टोबर ७, २०२३ मा हमासले इजरायलको किबुत्स अलुमिममा आक्रमण गर्दा अपहरणमा परेका २४ वर्षीय नेपाली विद्यार्थी विपिन जोशी हालसम्म हमासको बन्दीगृहमा रहेका छन्। अमेरिकाको पहलमा भएको सम्झौताले बाँकी बन्धकको रिहाइको बाटो खोलेको छ।
यसअघि विपिनको जीवित हुने आशासहित फोटो र पुरानो भिडियो सार्वजनिक गरिएको थियो। गत सेप्टेम्बर २१ मा उनका ‘अलबिदा फोटो’ सार्वजनिक भएको थियो भने इजरायली सेनाले २०२३ मा खिचिएको भिडियो फेला पारेको थियो। तर यो भिडियो एक वर्ष पुरानो भएको कारण हालको स्थिति स्पष्ट छैन।
सीएनएनको पछिल्लो रिपोर्ट अनुसार विपिन जोशी र २६ मृतक बन्धकमा पर्ने अन्य व्यक्तिहरूको स्थिति अज्ञात छ। इजरायली अधिकारीहरूले विपिन र अन्य बन्धकको जीवनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई शान्तिको ‘ऐतिहासिक अवसर’ भनेका छन्। पहिलो चरणमा सोमबार २० बन्धक इजरायली नागरिक रिहा हुनेछन्, तर विपिन जोशीसहित अन्य बन्धकको रिहाइमा ढिलाइ हुन सक्ने अनुमान गरिएको छ, किनभने प्राथमिकता इजरायली नागरिकलाई दिइएको छ।
यसअघि विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल पुगेर उनका रिहाइको अभियान चलाएका थिए।
नेपालमा विपिनको रिहाइको प्रतीक्षा अझै जारी रहेको छ।