
पछिल्लो समय दाङका महिलाहरू सामूहिक खेतीमार्फत मनग्य आम्दानी गर्दै आएका छन्। घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले दुई वर्षदेखि सामूहिक खेती गर्दै आएको छ।
समूहमा आबद्ध वसन्ती चौधरीले समूहमा २० जना महिलासँगै आलु, प्याज र अन्य तरकारी खेती गरी मनग्य आम्दानी गरेको बताइन्। उनी समूहको कोषाध्यक्ष हुन्। “हामीले २५ कट्ठा जमिन भाडामा लिएर आलु र प्याज खेती गरेका थियौं। आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ। दुई वटा टनेल बनाएर तरकारी खेती गरेका छौं,” उनले भनिन्।
कृषि ज्ञान केन्द्रले लक्षित वर्गका लागि रु २० हजार बीउपुँजी सहयोग गरेको छ। यसबाट समूहले सरकारी अनुदान र अन्य कार्यक्रमको जानकारी प्राप्त गरी फारम भर्ने प्रक्रिया सहज भएको छ।
समूहकी अध्यक्ष देउकुमारी चौधरीका अनुसार, घरको जमिनमा गरिएको खेती घरमै प्रयोग हुने, तर सामूहिक खेतीबाट आएको आम्दानी समूहमा जम्मा हुने गरेको छ। गत वर्ष सामूहिक खेतीबाट धान बिक्रीबाट रु ६० हजार, आलु २० हजार, ब्रोकाउली १२ हजार १५०, तरकारी बेर्ना ८ हजार ३००, काउली ४ हजार ५००, प्याज ३ हजार र गहुँ १२ हजार आम्दानी भएको थियो। यसरी समूहले हालसम्म रु १,१९,९५० आम्दानी गरिसकेको छ।
सामूहिक खेतीले छिटो, सहज र जनशक्ति कम हुँदा पनि कार्य सम्पन्न गर्न सकिने भएको अध्यक्ष चौधरीले बताइन्। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बङ्गुरपालनका लागि खोर बनाउन रु १० लाख बजेट सहयोग पनि उपलब्ध गराएको छ।
अध्यक्ष चौधरीका अनुसार समूहका महिलाहरू वित्तीय साक्षरता सिकेर बचत, लगानी, ऋण व्यवस्थापन, आम्दानी र खर्चमा योजना बनाइरहेका छन्। पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी कृष्ण न्यौपानेले महिला समूहको आयआर्जनमा सहयोग पुर्याउन बजेट उपलब्ध गराएको जानकारी दिए।
सामूहिक खेतीबाट महिलाहरूले आर्थिक स्वतन्त्रता प्राप्त गर्ने र जीवनस्तर उकास्ने प्रयास जारी राखेका छन्।