
वीरगन्ज महानगरपालिकामा हैजाको प्रकोप नियन्त्रणमा नआएपछि सम्पूर्ण विद्यालयहरू पुनः तीन दिनका लागि बन्द हुने भएका छन्।
शनिबार महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले आइतबारदेखि मंगलबारसम्म (भदौ ११–१३) सबै सरकारी तथा निजी विद्यालय, कोचिङ सेन्टर र इन्स्टिच्युटहरू बन्द गर्ने निर्णय गरेको हो। यसअघि भदौ ८ र ९ गते पहिलो पटक र भदौ ११ देखि १३ सम्म दोस्रो पटक विद्यालय बन्द गरिएको थियो। तर हैजाको संक्रमण अझै नियन्त्रणमा नआएपछि यसपटक पनि विद्यालय बन्दको अवधि थपिएको हो।
महानगरको निर्देशन र जनचेतना
महानगरले विद्यालयहरूलाई शौचालय र खानेपानीको ट्यांकी सफा गर्न, क्लोरिन प्रयोग गरी पानी शुद्धीकरण गर्न, स्वास्थ्य संस्थासँग समन्वय गर्न र विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको छ।
त्यस्तै, स्ट्रिट फुड, पानीपुरी, चाट, पुच्का र भाजा जस्ता खाद्यपदार्थमा पूर्ण प्रतिबन्ध लगाइएको छ। टोल–टोलमा स्वास्थ्यकर्मी परिचालन गरी ‘पानी उमालेर मात्र पिउनु, फलफूल तरकारी राम्ररी धोएर पकाएर खानु, काँचो वा बासी खाद्यपदार्थ नखानु र व्यक्तिगत सरसफाइमा ध्यान दिनु’ भन्ने सन्देशसहित जनचेतना अभियान तीव्र पारिएको छ।
महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार बन्द अवधिमा शिक्षक तथा कर्मचारीलाई समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, हैजा तथा झाडापखालाका बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको र खानेपानी आपूर्ति पाइपलाइन व्यवस्थापनमा विशेष ध्यान दिइएको छ।