
काठमाडौं महानगरपालिकाले दशैं नजिकिँदै गर्दा बजार अनुगमन गर्ने तयारी गरेको छ। गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण स्थगित भएको बजार अनुगमन अब आगामी सातादेखि सुरु हुने भएको हो।
कामपाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार बडादसैं नजिकिँदै गर्दा बजार व्यवस्थापनका लागि अनुगमन अपरिहार्य भएको बताए। उनले भने, “आन्दोलनका कारण सरकारी संयन्त्रहरू काममा फर्कन ढिलो भए पनि अब अनुगमन सुरु गर्ने तयारी गरिएको हो।”
अनुगमन समितिकी संयोजक एवं उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा टोली खसी बजार, टुकुचा तरकारी बजार, खाद्य संस्थान सुपथ बिक्री कक्षलगायत स्थानमा पुग्नेछ।
कामपाका अनुसार अनुगमनका क्रममा:
- वस्तुको मूल्य
- उत्पादन मिति
- म्याद सकिने मिति
- अधिकतम मूल्य
जस्ता पक्षमा विशेष ध्यान दिने गरिन्छ। उपभोक्तालाई ठगी गरेको वा कमजोरी भेटिए कानुनअनुसार जरिवाना र थप कारबाही गरिने चेतावनी पनि महानगरले दिएको छ।
गत वर्ष पनि दशैंका बेला सुपरमार्केट, होटल र मिठाई पसलमा गरिएको अनुगमनमा मापदण्ड उल्लंघन गर्ने व्यवसायीलाई दुई लाखसम्म जरिवाना गरिएको थियो।
कामपाले उपभोक्ताहरूलाई पनि सचेत रहन आग्रह गर्दै भनेको छ, “स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ताले आफैं पनि सजग हुनुपर्छ।”