
मनसुनमा बाढीपहिरोको उच्च जोखिमका कारण रातिको समयमा रोक लगाइएको बिपी राजमार्ग आजदेखि २४ घण्टा सञ्चालनमा ल्याइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन सकिँदै जानुका साथै दसैँ–तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै सडक खुला गर्ने निर्णय गरेको हो। समितिले यात्रुको सहजतालाई ध्यानमा राख्दै स्वीकृत सडक सुरक्षा कार्ययोजनाअनुसार सतर्कता अपनाइ सवारी सञ्चालन हुने जानकारी दिएको छ।
गत असार पहिलो सातादेखि बिपी राजमार्गमा राति १२ घण्टा सवारी सञ्चालनमा रोक लगाइएको थियो। धुलिखेलदेखि सिन्धुली सिमानास्थित नेपालथोकसम्मको खण्डमा बाढीपहिरोको जोखिमका कारण रोक लगाइएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिन रातिको समयमा रोक लगाइएको थियो।
अब भने यात्रु तथा मालवाहक सवारीसाधन २४ सै घण्टा सहज रूपमा सञ्चालन हुने भएका छन्।