
दार्चुला र बैतडीको सीमामा रहेको चमेलिया (चौलानी) नदीमा बगेर एक पुरुषको ज्यान गएको छ।
शनिबार बिहान शैल्यशिखर नगरपालिका–२ छेलाबगरस्थित नदीमा नुहाउने क्रममा स्थानीय ६० वर्षीय कृष्णबहादुर पालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रहरीका अनुसार नुहाउने क्रममा अचानक बगेर हराएका पालको शव केही समयपछि घटनास्थलबाट करिब २ सय मिटर तल फेला परेको हो।
दार्चुला प्रहरीका सूचना अधिकारी छत्रबहादुर रावतले मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको जानकारी दिए।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।