
मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व विधिवत् सम्पन्न भएको छ। चार दिनसम्म चल्ने यो महत्वपूर्ण पर्व सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सम्पन्न गरिएको हो।
तराई–मधेशका विभिन्न जिल्लामा बिहानैदेखि ब्रतालुहरू जलाशय, पोखरी, इनार, र नदीकिनारका घाटमा पूजासामग्रीसहित उपस्थित भए। केही स्थानमा आकाशमा बादल लागेकाले सूर्यका दर्शन गर्न नसके पनि ब्रतालुहरूले घडीको समयको आधारमा अर्घ्य अर्पण गरेका थिए।
जनकपुर उप–महानगरपालिका–१४ की ब्रतालु सुनिता सिंहका अनुसार, छठ पर्व नुहाएर चोखो भई खाने ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ। त्यसपछि उपासकहरूले चार दिनसम्म निराहार व्रत बसेर सूर्य देवताको आराधना गर्छन्।
भगवान् सूर्यको उपासना गरिने यस पर्वमा ब्रतालुहरूले उखु, केरा, भान्टा, दूध, माटोको हात्ती, ढकनी, फलफूल र मिठाइसहित पूजा सामग्री अर्पण गर्छन्। षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र सप्तमीको बिहान उदाउँदो सूर्यलाई ‘भोरका अर्घ्य’ दिने परम्परा रहेको छ।
पानीमा कम्मरसम्म डुबेर सूर्य आराधना गर्ने यो पर्वमा भक्तजनले रातभर जाग्राम बसेर पूजा गर्छन्। आज बिहान अर्घ्य दिइसकेपछि घरघरमा प्रसाद वितरण गर्दै छठ पर्व सम्पन्न भएको छ।