Join our Channel

नेदरल्यान्ड्सका ब्याटर म्याक्सवेल ओ’डाउड नेपाल प्रिमियर लिगमा, कर्णाली याक्समा अनुबन्ध

नेदरल्यान्ड्सका ब्याटर म्याक्सवेल ओ’डाउड नेपाल प्रिमियर लिगमा, कर्णाली याक्समा अनुबन्ध
Getty Images

नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्सवेल प्याट्रिक ओ’डाउड आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि कर्णाली याक्स टोलीमा अनुबन्ध भएका छन्।

कर्णाली याक्स स्पोर्ट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार, ओ’डाउडलाई ओपनिङ ब्याटिङ जोडीलाई सुदृढ बनाउने उद्देश्यले अनुबन्ध गरिएको हो। उनले भने, “म्याक्स ओ’डाउड नेपाली खेलाडी र त्रिवि मैदानसँग राम्रोसँग परिचित छन्। उनी टोलीका लागि उपयोगी सावित हुनेछन्।”

कर्णाली याक्सले यसअघि स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्सवाटअस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ। बोसिस्टोले पहिलो संस्करणमा पनि कर्णालीबाट खेलेका थिए भने जेम्सवाट र ओ’डाउडले यसपटक पहिलोपटक एनपीएल खेल्नेछन्।

३१ वर्षीय म्याक्स ओ’डाउडले नेदरल्यान्ड्सबाट ८७ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा उनले २,३०९ रन, एक शतक र १६ अर्धशतक बनाएका छन्। उनले ६५ एकदिवसीय खेलमा २,१५३ रन बनाइसकेका छन्। ओ’डाउडले कीर्तिपुरमै मलेसियाविरुद्ध ७३ बलमा अविजित १३३ रन बनाएका थिए, जुन उनको अन्तर्राष्ट्रिय कीर्तिमानमध्ये एक हो।

कर्णाली याक्सले दोस्रो संस्करणको तयारी तीव्र बनाएको छ। टोलीले नोभेम्बर ५ (मंसिर २०८२) मा ट्यालेन्ट हन्ट आयोजना गर्दैछ। अघिल्लो संस्करण (मंसिर १५ देखि पुस ६, २०८१) मा कर्णाली याक्सले दोस्रो क्वालिफायर सम्मको यात्रा तय गरेको थियो।

Leave a comment