
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२ दशमलव ५० प्रतिशतले बढी हो।
सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार एक वर्षको अवधिमा कुल १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात गरिएको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा चिया निर्यात ३ अर्ब १७ करोड ९५ लाख २७ हजार रुपैयाँ बराबरमा सीमित थियो।
तर, चियाको निर्यातमा वृद्धि भए पनि अलैँची निर्यातमा भने गिरावट देखिएको छ। तथ्यांकअनुसार २०८१/८२ मा अलैँची निर्यात ७ अर्ब ६७ करोड ४० लाख ३७ हजारमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३ दशमलव २० प्रतिशतले कम हो। सन् २०८०/८१ मा अलैँची निर्यात ७ अर्ब ९३ करोड ९ लाख ९० हजार रुपैयाँ बराबरको थियो।
कुल रूपमा, मेची भन्सार कार्यालयमार्फत आर्थिक वर्ष २०८१/८२ मा २५ अर्ब १३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ।