
वर्षौँदेखि निजी स्वार्थले कब्जामा परेको नारायणी स्पोर्ट्स क्लबको भवन अन्ततः स्थानीयको स्वामित्वमा फिर्ता आएको छ।
वीरगन्ज महानगरपालिका–५ मा सार्वजनिक हितका लागि निर्माण गरिएको तीन तल्ले क्लब भवन पत्रकार कुमारबन्धु रूपाखेतीले लामो समयदेखि व्यक्तिगत रूपमा नियन्त्रणमा राख्दै आएका थिए भन्ने आरोपका बीच स्थानीयको पहलमा फिर्ता ल्याइएको हो।
वडाध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा वडाका भद्रभलादमी, जनप्रतिनिधि तथा नगर प्रहरीको उपस्थितिमा क्लब भवनको ताल्चा खोलेर वडा कार्यालयको मातहतमा ल्याइएको हो। सार्वजनिक सम्पत्तिको रक्षा गर्दै चौरसियाले भने, “पत्रकार भएको नाममा कसैले पनि सार्वजनिक सम्पत्ति कब्जा गर्न पाउँदैन।”
उनका अनुसार वडा कार्यालयले पटक–पटक चाबी फिर्ता गर्न सार्वजनिक सूचना जारी गर्दा पनि कुनै सुनुवाइ नभएपछि प्रत्यक्ष हस्तक्षेप गरिएको हो।
पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लालबाबु राउत गद्दीको संसदीय विकास कोषबाट ८० लाख रुपैयाँको लागतमा बनेको तीन तल्ले भवनको जग्गा वीरगन्जका समाजसेवी रविविक्रम शाह (शिव राजा) ले दान गरेका थिए। भवनको निर्माण क्रमशः २०८० र २०८१ सालमा सम्पन्न भएर २०८१ मंसिर १ गते उद्घाटन गरिएको थियो।
स्थानीय बासिन्दाले क्लब पुनःस्थापना हुनु ऐतिहासिक उपलब्धि भएको बताएका छन्। स्थानीय युवा शुभम यादवले भने, “अब क्लब सबैका लागि खुला हुनेछ भन्ने विश्वास छ।” अर्की स्थानीय गीता देवीले भनिन्, “हाम्रा छोराछोरीले अब आफ्नै टोलमा सिर्जनात्मक गतिविधिमा सहभागी हुने अवसर पाउनेछन्।”
तर, क्लब कब्जाको आरोप लागेका पत्रकार रूपाखेतीले भने आरोप अस्वीकार गर्दै वडाध्यक्षले बिना सल्लाह ताल्चा तोडेको र क्लब कब्जा गर्न खोजेको दाबी गरेका छन्।
वडाध्यक्ष चौरसियाले भने, “हामीले भवन मात्र फिर्ता ल्याएका छैनौं, वडावासीको हक र सम्मान पुनःस्थापित गरेका छौं।”