Join our Channel

विष्णुमति खोलामा कार दुर्घटना : महिलाको उद्धार, चालकले हाम फालेर बचाए ज्यान

विष्णुमति खोलामा कार दुर्घटना : महिलाको उद्धार, चालकले हाम फालेर बचाए ज्यान

काठमाडौंको टोखा नगरपालिकामा रहेको विष्णुमति खोलामा गएराति कार खसेपछि एक महिलाको चमत्कारी उद्धार गरिएको छ।

नेपाल प्रहरीका अनुसार, राति करिब १०:१५ बजे टोखा-६ स्थित ग्रान्डी अस्पतालको पछाडि रहेको सडकबाट बा.प्र. ०१-०३१ च ६१४१ नम्बरको प्राइभेट कार खोलामा खसेको हो। सो कार धुम्बाराही निवासी अंकुश सिंहले चलाइरहेका थिए।

कार खोलामा खसेलगत्तै चालक सिंहले समयमै हाम फालेर आफ्नो ज्यान जोगाएका थिए। तर, गाडीमा सवार टोखा निवासी भावना ओली भने कारसहित बगेर गएका थिए।

कार बग्दै बानियाँटार पुल नजिक पुगेपछि अड्किएको अवस्थामा पुगेको थियो। त्यहीँ प्रहरी र स्थानीयको सहायतामा भावना ओलीको सफल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

उद्धारपछि उनलाई तत्काल ग्रिनसिटी अस्पतालमा उपचारका लागि पठाइएको छ।

दुर्घटनामा प्रयोग भएको कारलाई क्रेनको सहायतामा खोलाबाट निकालेर नयाँ बसपार्क प्रहरी प्रभागमा राखिएको छ। उद्धार कार्यको क्रममा प्रहरी र केही स्थानीयसमेत सामान्य घाइते भएको जनाइएको छ।

प्रहरीका अनुसार, गएरातिको वर्षाका कारण खोलामा पानीको बहाव एक्कासी बढेकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

Leave a comment