Join our Channel

सिरहामा ८० प्रतिशत कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर

सिरहामा ८० प्रतिशत कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर

नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग सिरहामा निकै बलियो देखिएको छ। सिरहा जिल्लामा करिब ८० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेर बुझाएका छन्।

जिल्ला सचिव शैलेन्द्र यादवका अनुसार क्षेत्रगत रूपमा हस्ताक्षर यसरी वितरण भएको छ:

  • सिरहा क्षेत्र–१ : १९ जनाले हस्ताक्षर
  • सिरहा क्षेत्र–२ : १२ जनाले हस्ताक्षर
  • सिरहा क्षेत्र–३ : २५ जनाले हस्ताक्षर
  • सिरहा क्षेत्र–४ : १९ जनाले हस्ताक्षर

त्यसैगरी, पार्टी विभागबाट मनोनीत महाधिवेशन प्रतिनिधिहरू पनि हस्ताक्षरमा सहभागी भएका छन्।

शुरुमा जिल्ला सचिव यादव, सहसचिव रामबाबु यादव र उपसभापति सुनिल महतलगायतले हस्ताक्षर गराउँदै आएका थिए। पछि महासमिति सदस्य डा. सुभाष चन्द्र यादवले छुट्टै हस्ताक्षर गराएपछि हस्ताक्षर गर्ने प्रतिनिधिहरूको संख्या ४० प्रतिशतभन्दा माथि पुगेको बताइएको छ।

मधेस प्रदेश महामन्त्री उपेन्द्र यादवदेखि जिल्लाका अन्य पदाधिकारीहरू पनि हस्ताक्षरमा सहभागी भएका छन्। उनीहरू देउवा पक्षमा छन्।

त्यस्तै, शेखर कोइराला पक्षमा रहेको दाबी गर्ने केही नेता, जस्तै नरेश यादव, मधेस प्रदेश सांसद जिवछी यादव, रामदयाल यादव, नियमित महाधिवेशनको पक्षमा रहेको बताएका छन्। तर, शेखर कोइराला पक्षकै जिल्ला सभापति प्रत्यासी रामसुन्दर चौधरी, पुनम चौधरी, अरुण केसीले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्।

कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

महासमिति सदस्य तथा ट्रेड युनियन कांग्रेस सिरहा सभापति संजिव उपाध्यायले भने, “अहिलेको नेतृत्व चुनावमा गएर पार्टीलाई थप क्षति हुन सक्छ। त्यसैले महाधिवेशन चुनाव अघि नै हुनुपर्छ। चाहे नियमित होस् वा विशेष, पार्टीको हितमा निर्णय लिनै पर्छ।” उनले पनि हस्ताक्षर गरेका छन्।

Leave a comment