
नेपाली कांग्रेसले देशभर मतदाता दर्ता अभियानलाई व्यापक र प्रभावकारी बनाउन पार्टीका सबै संगठन र निकायलाई सक्रिय हुन परिपत्र जारी गरेको छ।
कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले शुक्रबार देशभरका पार्टी निकायलाई परिपत्र पठाउँदै नयाँ राजनीतिक सन्दर्भमा पार्टीलाई जनस्तरमा सक्रिय बनाउन र मतदाता दर्ता अभियानलाई प्राथमिकता दिन निर्देशन दिएका हुन्।
छठपछि अभियानमा पूर्ण ध्यान दिन आग्रह
परिपत्रमा भनिएको छ —
“छठ पर्व लगत्तै प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरक–फरक जिल्लामा पठाई सम्पूर्ण ध्यान मतदाता दर्ता अभियानमा केन्द्रित गर्न र गराउन प्रतिनिधिको रूपमा जिम्मेवारी तोकिनेछ।”
यसअन्तर्गत जिल्ला कार्यसमिति र मातहतका सबै तहका संगठनहरूलाई अन्य कामभन्दा प्राथमिकतामा राखी मतदाता दर्ता अभियानमा लाग्न भनिएको छ।
कार्तिक ३० सम्म नाम दर्ता गर्न सकिने
परिपत्रमा थप भनिएको छ —
“जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा कार्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिनेछ।
दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक हुनेछ, नागरिकता नभएका युवाले नागरिकता बनाएर सोही दिन दर्ता गर्न सक्नेछन्।”
कांग्रेसको विशेष आह्वान
कांग्रेस नेतृत्वले यो अभियानलाई “विशेष जिम्मेवारी र राजनीतिक रूपान्तरणको अवसर” भन्दै सबै तहका कार्यकर्तालाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ।