
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) विश्वकप लिग टु अन्तर्गत नेपाल, अमेरिका र संयुक्त अरब इमिरेट्स (UAE) सम्मिलित त्रिकोणात्मक सिरिज आज (मंगलबार) बाट सुरु हुँदैछ। नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग बिहान ११:१५ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल्नेछ।
नेपाल र अमेरिकाबीचको क्रिकेट प्रतिस्पर्धा सधैं रोमाञ्चक रहँदै आएको छ। दुवै टोलीले हालसम्म ९ पटक एकअर्कासँग खेल्दा चार–चार खेल जितेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ।
नेपालको हालको टोली प्रशिक्षक स्टुअर्ट ल हुन्, जो यसअघि अमेरिकाको प्रशिक्षक रहिसकेका थिए। अर्कोतर्फ अमेरिकी टोलीका प्रशिक्षक पुबुदु दाशानायके हुन्, जो नेपाली क्रिकेटसँग राम्रोसँग परिचित छन्।
नेपालले गत महिना आइसिसी टी–२० विश्वकपमा स्थान बनाउन सफल भएको थियो। त्यसअघि स्कटल्यान्ड, अमेरिका र नेपाल सम्मिलित सिरिजमा नेपालले अमेरिकासँग खेलेका दुवै खेलमा हार बेहोरेको थियो।
हाल अंक तालिकामा नेपाल सातौं स्थानमा रहेको छ। नेपालले १६ खेलमा १२ अंक बटुलेको छ भने अमेरिकाले २० खेलमा २८ अंक जोड्दै दोस्रो स्थान कायम राखेको छ।
आइसीसी लिग टुका लागि नेपाली टोली:
कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, अनिल शाह, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुल्सन झा र शाहब आलम।