
विश्व फुटबलका आइकन क्रिस्टियानो रोनाल्डो ई-स्पोर्ट्स विश्वकप २०२५ का ग्लोबल एम्बासडर घोषित भएका छन्। उनले सामाजिक सञ्जालमार्फत यो जानकारी सार्वजनिक गर्दै ई-स्पोर्ट्सको भविष्यप्रति आफ्नो उत्साह व्यक्त गरेका छन्।
साउदी अरेबियाको राजधानी रियादमा गत वर्ष सम्पन्न ई-स्पोर्ट्स विश्वकप २०२४ को समापन समारोहमा नै उनलाई एम्बासडर बनाउने घोषणा गरिएको थियो। सो समारोहमा रोनाल्डो परम्परागत साउदी पोशाकमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित अन्य विशिष्ट अतिथिहरूसँग मञ्चमा देखिएका थिए।
पोर्चुगलका स्टार खेलाडी तथा साउदी क्लब अल-नासेरका स्ट्राइकर, ४० वर्षीय रोनाल्डोले शुक्रबार एक्स (Twitter), फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा लेखे,
“ई-स्पोर्ट्स विश्वकपको ग्लोबल एम्बासडरको रूपमा जोडिन पाउँदा म गौरवान्वित छु। म त्यस्ता गेमरहरूसँग उभिनेछु, जसले नयाँ पुस्तालाई प्रेरित गर्नेछन्।”
ई-स्पोर्ट्स विश्वकप २०२५: खेल, पुरस्कार र सहभागी
यस वर्षको ई-स्पोर्ट्स विश्वकप जुलाई ७ देखि अगस्ट २४ सम्म पुनः रियादमै आयोजना हुँदैछ। प्रतियोगितामा २१ शीर्षकका २५ खेल समावेश हुनेछन् जसमा “League of Legends”, “PUBG”, “Honor of Kings”, “Fatal Fury” लगायत चर्चित खेल समावेश छन्। पहिलोपटक चेस पनि प्रतियोगितामा समावेश हुँदैछ।
यस प्रतियोगितामा विश्वभरका २,००० भन्दा बढी खेलाडीहरूले भाग लिने अपेक्षा गरिएको छ, जसले २ सयभन्दा बढी क्लबहरूबाट प्रतिनिधित्व गर्नेछन्। कुल ७० मिलियन अमेरिकी डलर पुरस्कार राशी यो प्रतियोगितालाई अहिलेसम्मकै सबैभन्दा ठूलो बनाउँछ।
एशिया क्षेत्रको छनोट खेल आगामी साताबाट सुरु हुँदैछ, जसमा कम्तीमा दुई नेपाली टोलीले भाग लिने अनुमान गरिएको छ।
रोनाल्डोको भूमिका र डिजिटल खेलको विस्तार
क्रिस्टियानो रोनाल्डोको सहभागीता डिजिटल गेमिङ र परम्परागत खेलकुदबीचको दूरी घटाउने रणनीतिक कदम मानिएको छ। आयोजकहरूका अनुसार रोनाल्डोको विश्वव्यापी प्रभावले प्रतियोगिताको दर्शक संख्या, ब्रान्ड भ्यालु र प्रायोजनमा उल्लेखनीय वृद्धि हुने विश्वास गरिएको छ।
ई-स्पोर्ट्स उद्योग आफैँमा तीव्र गतिमा वृद्धि भईरहेको छ। २०२५ सम्ममा यसको राजस्व २ अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ भने दर्शक संख्या ६४ करोड नाघ्ने अनुमान छ।
साउदी अरेबियाले “Gamers-8” परियोजना लगायत डिजिटल मनोरञ्जन क्षेत्रमा अत्यधिक लगानी गर्दै यो क्षेत्रमा अन्तर्राष्ट्रिय केन्द्र बन्ने लक्ष्य लिएको छ।