
डडेलधुराको अजयमेरु गाउँपालिका–५ देवलगाउँमा एक युवक आफ्नै कोठामा मृत फेला परेका छन्।
असोज ८ गते राति २९ वर्षीय महेन्द्र सार्की आफ्नै घरको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर बिष्टका अनुसार सार्की आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेका हुन्। घटनास्थलमा खाट नजिकै शव भेटिएको र माथि प्लास्टिकको डोरी फेला परेको प्रहरीले जनाएको छ।
शंकास्पद परिस्थितिमा शव भेटिएकाले प्रहरीको टोलीले घटनास्थलबाट प्रारम्भिक प्रमाण संकलन गरेको छ। घटनाबारे थप अनुसन्धान अघि बढाउँदै प्रहरी मृतककी श्रीमती कमला सार्की र दाई नाता पर्ने जोगराम सार्कीलाई नियन्त्रणमा लिएको छ।
बिष्टका अनुसार मृतकको घरमा श्रीमती, पाँच वर्षीय छोरा र अढाई वर्षीया छोरी बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार मृत दम्पतीबीच दैनिक झगडा हुने गरेको र त्यही कारण घटनासँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ।
कमला सार्की दुई महिनादेखि माइतीघरमै बस्दै आएकी थिइन्। तर, घटना हुनु दुई दिनअघि मात्रै उनी घर फर्किएकी थिइन्। अहिले प्रहरीले दुबैलाई नियन्त्रणमा राखी अनुसन्धान अघि बढाइरहेको छ।