
दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक क्षेत्र न्युरोड, असन, महाबौद्धलगायत स्थानहरूमा किनमेल गर्ने ग्राहकहरूको भीड अत्यधिक बढेको छ। बिहानैदेखि नै पसलहरूमा भीड देखिन थालेको छ र पैदल हिँड्नसमेत कठिन भएको व्यापारीहरू बताउँछन्।
एक सातापछि फूलपाती पर्न लागेकाले सर्वसाधारणले दसैंका लागि लत्ताकपडा, जुत्ता, चप्पल, ब्याग, सजावटी सामग्रीलगायत सामान किन्न थालेका छन्। यतिबेला खुद्रा व्यापारीहरू पनि होलसेल बजारबाट सामान लिएर बिक्रीमा जुटिरहेका छन्। तर व्यापारीहरूको भनाइमा चीनतर्फका प्रमुख नाका तातोपानी र रसुवाबाट सामान नआउँदा बजारमा नयाँ स्टक पुग्न ढिला भएको छ।
हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार तातोपानी नाका खोल्ने पहल भइरहेको भए पनि रसुवा नाका तत्काल सञ्चालनमा आउँने सम्भावना कम छ। ‘चाडबाडको मुख्य व्यापार दसैं र तिहारबीच हुने अपेक्षा छ, तर अहिलेलाई नयाँ सामान अभाव छ,’ उनले भने।
राष्ट्रिय व्यापार संघले पनि दसैंको किनमेल सुरु भए पनि नयाँ स्टक नआएकाले व्यापार अपेक्षाकृत कमजोर भएको जनाएको छ। केही ठूला व्यापारीले भने जहाजमार्फत सामान ल्याएपछि उनीहरूको बिक्री राम्रो भएको बताइएको छ, तर साना व्यापारीलाई भाडा तिर्नसमेत समस्या परेको छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले हालसालै व्यापार केही सुधार भए पनि पहिरो र नाका अवरुद्ध हुँदा कच्चा पदार्थ अभावले स्वदेशी उद्योगीलाई समस्या पारेको बताए। ‘नेपाली जुत्ता, चप्पल, ब्याग, टिसर्टको माग राम्रो छ तर कच्चा पदार्थ नआउँदा उत्पादनमा समस्या छ,’ उनले भने।
राष्ट्रिय व्यापार संघका अध्यक्ष हेमलाल खरालका अनुसार गत वर्षको तुलनामा करिब ५०% मात्र नयाँ सामान आएको छ। हाल तातोपानी र केरुङमा करिब ५०० चिनियाँ कन्टेनर रोकिएका छन्। कोलकाता र विशाखापट्टनमबाट आयात भएका सामानले बजार धाने पनि नयाँ स्टक अभावकै कारण व्यापारी निराश छन्।
मूल्य भने अहिलेसम्म उल्लेख्य बढेको छैन। ‘कालोबजारी जस्तो मूल्यवृद्धि भएको छैन, अधिकतम ५–१०% वृद्धि सामान्य हो,’ महासचिव पराजुलीले बताए।
सरकारी खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने निर्णय
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटक दशैंका लागि सहुलियत मूल्यमा खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने निर्णय गरेको छ।
विगतमा बजार मूल्यभन्दा सस्तोमा (प्रति किलो १० रुपैयाँ छुटसहित) खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको कम्पनीले यस वर्ष राजनीतिक अस्थिरता र मुख्य सडक अवरोधका कारण आपूर्ति श्रृंखला अवरुद्ध भएपछि योजना रद्द गरेको जनाएको छ।
कम्पनीका बिक्री विभाग प्रमुख भीमबहादुर थापाका अनुसार यस वर्ष १,५०० खसीबोका र ३०० च्याङ्ग्रा ल्याउने तयारी थियो र अनलाइन बुकिङसमेत खुलाइएको थियो। तर हालैको आन्दोलन र सामाजिक सञ्जाल बन्द हुँदा बुकिङ प्रक्रिया रोकियो र स्थानीय तहसँगको सम्पर्क पनि टुट्यो। अग्रिम बुकिङ गर्ने ४० जनालाई रकम फिर्ता गर्न थालिएको कम्पनीले जनाएको छ।
सरकारी हस्तक्षेप नहुँदा बजारमा व्यापारीहरूले मनोमानी मूल्य निर्धारण गर्ने आशंका बढेको छ। अघिल्ला वर्षमा सहुलियत बिक्रीले बजार मूल्य नियन्त्रणमा सहयोग गरेको थियो।