
आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज देशभर घर–घरमा शास्त्रीय विधिअनुसार मनाइँदैछ। दसैँ घरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर देवी दुर्गाको पूजा आराधना गर्ने प्रचलन छ।
घटस्थापनादेखि नै वैदिक विधिपूर्वक देवीलाई आह्वान गरी पूजाआजा गरिँदै आएकोमा सप्तमीका दिन विशेषगरी उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष घरमा भित्र्याउने गरिन्छ। यसलाई नवपत्रिका पनि भनिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार यी वस्तुहरूमा क्रमशः ब्रह्माणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकरहिता र कात्तिकी देवीको आवाहन गरी पूजा गर्ने परम्परा रहेको छ।
हनुमानढोका दरबारमा भने विशेष परम्पराअनुसार गोरखाबाट फूलपाती ल्याइने चलन छ। गोरखाबाट धादिङसम्म मगर समुदायका प्रतिनिधिहरूले, त्यहाँबाट काठमाडौंसम्म ब्राह्मणहरूले ल्याउने गर्छन्। जमलबाट हनुमानढोकासम्म उच्च पदस्थ अधिकारी, गुर्जु पल्टन, पञ्चेबाजा र सांस्कृतिक झाँकीसहित फूलपाती भित्र्याइने गरिन्छ।
राजतन्त्रकालमा यस कार्यक्रममा राजाको उपस्थित हुने परम्परा थियो भने गणतन्त्रपछि संस्कृति मन्त्री उपस्थित हुने प्रचलन बनेको छ। यस वर्ष भने सोमबार साँझ ४:३० बजे फूलपाती भित्र्याउने कार्यक्रम तय गरिएको छ।
फूलपातीसँगै दशैँको चहलपहल अझै बढ्ने भएको छ। घटस्थापनादेखि सुरु भएको दुर्गा पूजाको धार्मिक वातावरण आजबाट सामाजिक रूपमा अझै जीवन्त बन्ने अपेक्षा गरिएको छ।