
काठमाडौं महानगरपालिका–२०, भीमसेनस्थान नजिकको एक घरमा आज बिहान भीषण आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता पूर्णिमा चन्दका अनुसार बिहान करिब ४ बजे सुरु भएको आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र स्थानीयवासीहरूको सहयोगमा ६ वटा दमकल परिचालन गरिएको हो।
आगो केही हदसम्म नियन्त्रणमा ल्याइएको भए पनि पूर्णरूपमा निभाउन बाँकी रहेको प्रहरीले जनाएको छ। क्षतिको विवरण संकलन भइरहेको र प्रारम्भिक अनुसन्धानअनुसार आगलागी नजिकैको कपडा पसलबाट सुरु भएको अनुमान गरिएको छ।
यस आगलागीले भीमसेनस्थान क्षेत्रको जनजीवन प्रभावित भएको छ भने थप विवरण अनुसन्धानपछि सार्वजनिक हुने जनाइएको छ।