Join our Channel

आज विजयादशमी, टीकाको उत्तम साइत ११:५३ बजे

आज विजयादशमी, टीकाको उत्तम साइत ११:५३ बजे

हिन्दूहरूको महान् पर्व विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। मान्यजनको हातबाट रातो टीका र जमरा ग्रहण गरी आशिर्वाद लिने चलन अनुसार आज घरघरमा टीका लगाउने क्रम सुरु भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका लगाउनका लागि बिहान ११:५३ बजेको साइत उत्तम मानिएको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार विजयादशमी आफैंमा शुभ दिन भएकाले सामान्य भक्तजनले भने साइत खोज्नै नपर्ने बताएका छन्।

ढकालले भने, “राज्य सञ्चालकहरूले साइतमै टीका लगाउनुपर्ने परम्परा छ। साइतमै टीका लगाउँदा देवीको शक्ति, प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने विश्वास रहिआएको छ।”

घटस्थापनादेखि लगातार ९ दिनसम्म गरिएको दुर्गा पूजापाठ र जमरा आज टीका प्रसादसहित ग्रहण गरिने प्रचलन छ। विजयादशमीको दिन दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा एवं मान्यजनको आशिर्वाद ग्रहण गर्ने परम्परा शताब्दीयौंदेखि चल्दै आएको छ।

समितिले देवी विसर्जनको साइत आज बिहान ९:२३ बजे रहेको जानकारी दिएको छ। यदि आज टीका लगाउन नभ्याउनेहरूले भने कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

Leave a comment