
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दसैं यात्रुलाई सहज बनाउने उद्देश्यले सात बुँदे निर्णय गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालय पनि सम्हाल्दै आएका मन्त्री घिसिङले सडक तथा यातायात व्यवस्थापन सुधार्न सरोकारवालासँग छलफल गरेका थिए।
उनले निर्णयअनुसार:
- नागढुंगा सुरुङमार्ग प्रयोग: काठमाडौंबाट बाहिरिने यात्रुवाहक सवारीसाधनलाई सुरुङमार्गबाट सञ्चालन गरिने।
- दाउन्ने खण्डमा ठूला सवारी रोक: बुटवल–नारायणगढ दाउन्ने खण्डमा दसैं अवधिभर १२ चक्के र सोभन्दा माथिका सवारी रोकिने, तर खाद्यान्न र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई छुट।
- सडक अवस्था निगरानी: २४ सै घण्टा सडक अवस्थाबारे गुनासो सुन्न, अवरोध हटाउन र तुरुन्त समाधानको व्यवस्था।
- मुख्य सडक सुधार: मुलुकभरका मुख्य सडक चुस्त, दुरुस्त राख्न आवश्यक यन्त्र र सामग्रीको व्यवस्थापन।
- दुईतर्फी यातायात सञ्चालन: दाउन्ने खण्डमा चौबीसै घण्टा सवारी आवागमन सुनिश्चित।
- पहिरो हटाइ यातायात सुचारु: नारायणगढ–मुग्लिन सडकको तुइन खोलामा पहिरो हटाइ तुरुन्त यातायात सञ्चालन।
- तातोपानी नाका र कन्ट्रोल रुम: तातोपानी नाका जोड्ने मुख्य सडक दसैंअघि सञ्चालन र मुलुकभर सडक अवस्था निगरानीका लागि २४ घण्टा कन्ट्रोल रुम सञ्चालन।
मन्त्री घिसिङले प्रहरी गस्ती र सुरक्षालाई चुस्त बनाउन गृह मन्त्रालयसँग समन्वय गर्न निर्देशन दिएका छन्। यसबाहेक, सडक विभागलाई कर्मचारी रोटेसन गरेर दसैंमा पनि पहिरो पन्छाउने व्यवस्था मिलाउन भनिएको छ।
सार्वजनिक सूचना प्रणालीमार्फत मौसम र सडकको अवस्था यात्रुहरूलाई नियमित जानकारी गराउने र डिजिटल प्रणालीमार्फत यातायात सुधार गर्ने व्यवस्था पनि अघि बढाइएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार दसैं अवधिभर करिब २० लाख यात्रु राजधानीबाट बाहिरिने अनुमान छ। सरकारले यात्रुलाई सुरक्षित, प्रविधिमैत्री र सहज यात्रा सुनिश्चित गर्न विभिन्न पूर्वतयारी गरेको बताइएको छ।