
जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहार र छठ पर्वमा चार हजार ७३८ जना प्रहरी परिचालन गर्ने योजना सार्वजनिक गरेको छ। नागरिकको सुरक्षा सुनिश्चित गर्न र अप्रिय घटना हुन नदिन चार प्रकारका सुरक्षा रणनीति तयार पारिएको प्रहरीले जनाएको छ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, दसैँ अवधिभर ९१ स्थानमा पिकेट ड्युटीका लागि ३६४ जना प्रहरी खटाइनेछ।
त्यस्तै, नागरिक सहायता कक्ष १४ स्थानमा सञ्चालन हुने योजना छ। हाल बल्खु, कलंकी र नयाँ बसपार्कमा ७२ जनाको जनशक्ति परिचालित छ। सुरक्षा रणनीतिमा पूजापाठ हुने स्थान, टिकट बिक्री स्थल, खसीबोका खरिद–बिक्री स्थल, सपिङ सेन्टर, महल तथा गरगहना पसलमा विशेष सुरक्षा व्यवस्था समावेश गरिएको छ।
चाडपर्वमा चोरी, पकेटमारी, लुटपाट, कुटपिट जस्ता घटनाहरू बढी हुने भएकाले सादा पोसाकका प्रहरी, क्यूआरटी टोली, मोबाइल टोली र मोटरसाइकल क्यूआरटी टोली समेत परिचालन गरिनेछ।
प्रहरीले सर्वसाधारणलाई आफ्ना घरको सुरक्षा सुनिश्चित गर्न विश्वासिला व्यक्तिलाई जिम्मा लगाउने वा नजिकको प्रहरीलाई खबर गर्ने व्यवस्था अपनाउन अनुरोध गरेको छ।