
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय नरहेको स्पष्ट पारेका छन्। शनिबार ललितपुरमा आयोजित ११औं विश्व योग दिवसको विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “अब योग संसारको साझा जीवन पद्धति बनेको छ।”
उनका अनुसार योग र ध्यानले व्यक्तिलाई आफैंभित्र हेर्न प्रेरित गर्छ, मनस्थितिको पहिचान गराउँछ र सकारात्मक सोचतर्फ उन्मुख गराउँछ। मन्त्री पन्तले योग तथा ध्यानलाई वैदिक साहित्य, दर्शन र वाङ्मयसँग गहिरो सम्बन्ध भएको बताउँदै तिनलाई नेपालको सांस्कृतिक सम्पदा र बौद्धिक सम्पत्तिको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए।
मन्त्री पन्तले थपे,
“विश्व योग दिवसले देखाएको छ कि योग अब केवल वैदिक संस्कृतिको मात्रै नभई सम्पूर्ण मानव समुदायको साझा जीवनशैली बनेको छ। ध्यान र योगले मन शुद्ध पार्छ, चित्तलाई शान्त बनाउँछ। यसले व्यक्ति र समाज दुबैमा सकारात्मक परिवर्तन ल्याउँछ।”
उनले नेपाललाई योग, ध्यान र चिन्तनको आदि भूमि भन्दै, आजको विश्वलाई भौतिक मात्र नभइ मानसिक र अन्तरिक्षीय शान्तिको पनि आवश्यकता रहेको धारणा राखे।
विश्वस्तरमा बढ्दो तनाव, मानसिक दबाव र जीवनशैलीका चुनौतीबीच योग र ध्यान सबै धर्म, समुदाय र देशका मानिसहरूका लागि उपयोगी अभ्यास भएको मन्त्री पन्तको भनाइले स्पष्ट पार्छ। उनले नेपाललाई योगको केन्द्रका रूपमा स्थापित गर्न आह्वान गरे।