
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई महाधिवेशन निर्धारित मितिमै हुने प्रस्ट सन्देश दिएका छन्।
महामन्त्री गगनकुमार थापाले केन्द्रिय कार्यसमितिमा अतिरिक्त प्रस्ताव दर्ता गराएपछि उनीहरू देउवासँग भेटघाटमा पुगेका थिए। भेटमा देउवाले महाधिवेशनबारे कुनै भ्रम नराख्न र विशेष महाधिवेशन हुने भन्ने चर्चा निराधार रहेको बताए।
स्रोतका अनुसार देउवाले भने,
“अब कसले के भन्छ भन्ने प्रसंग रहेन। कार्यतालिका सार्वजनिक भइसकेको छ। त्यसै मितिमा महाधिवेशन हुन्छ। तपाईंमध्ये को सभापतिमा लड्नुहुन्छ, एक जनाको नाम टुंगो लगाउनुस्।”
उनले संस्थापन पक्षका ‘सात भाइ’ लाई एउटै नाममा सहमति जुटाउन आग्रह गरेको बताइएको छ। छलफलमा पदाधिकारीहरू महामन्त्री थापामाथि पनि आक्रोशित भएको स्रोतले जनाएको छ।
पदाधिकारीहरूका अनुसार, थापाले महाधिवेशनका तयारीमा जुट्नुपर्ने बेलामा बारम्बार विशेष महाधिवेशनको रटान लगाएको आरोप लगाइएको छ।
“महामन्त्रीले त बैठकले तोकेको कार्यतालिका अनुसार काम गर्नुपर्छ। महाधिवेशन हुन्छ कि हुँदैन भन्ने भ्रम पाल्नु भएन,” एक पदाधिकारीले भने।
यसअघि सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ सम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो। सोही बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशन हुन नसके स्वतः विशेष महाधिवेशन हुनुपर्ने रायसहित अतिरिक्त प्रस्ताव दर्ता गराएका थिए।