Join our Channel

धनतेरसमा किन पूजा हुन्छ आयुर्वेदका देवता धन्वन्तरीको?

धनतेरसमा किन पूजा हुन्छ आयुर्वेदका देवता धन्वन्तरीको?

आज धनतेरसको दिन, कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि, देशभर सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किन्ने परम्परा चल्दछ। यसै दिन आयुर्वेदका देवता भगवान धन्वन्तरीको जन्मोत्सव पनि मनाइन्छ।

धार्मिक विश्वास अनुसार, यस दिन धातुका भाँडावर्तन वा सुनचाँदीका गरगहना किन्नेले लक्ष्मीको आशीर्वाद पाउँछन्। साथै, भगवान विष्णुको पूजा पनि गरिन्छ, जसले दीर्घायु र निरोगी जीवनको कामना पुरा गर्छ।

धन्वन्तरी को हुन्?

भगवान धन्वन्तरीलाई आयुर्वेदका देवता, चिकित्सकहरूको संरक्षक, स्वास्थ्य, समृद्धि र दीर्घायुका प्रतीकका रूपमा मानिन्छ। उनी भगवान विष्णुको अवतार हुन् र पूर्वीय चिकित्सा विज्ञानका प्रथम आचार्य पनि मानिन्छन्।

धन्वन्तरीले देव–असुर संग्रामको समयमा देवताहरूको उपचार गरेका थिए। यसैले उनलाई भगवान राम र श्रीकृष्णकै स्तरमा पूजा गर्ने परम्परा रहेको छ। महाभारत, विष्णु पुराण, अग्नि पुराण र श्रीमद्भागवत महापुराणमा धन्वन्तरीको महिमा उल्लेख गरिएको छ।

धन्वन्तरीको उत्पत्ति : समुद्र मन्थन

धन्वन्तरीको जन्म समुद्र मन्थनको समयमा भएको मानिन्छ। क्षीरसागरमा मन्दराचल पर्वतलाई मथानी र वासुकी नागलाई डोरी बनाएर देवता र असुरहरूले समुद्र मथ्थिएका थिए। भगवान विष्णु कूर्म अवतार लिएर पर्वतलाई आधार दिएका थिए।

मन्थनको क्रममा अनेक दिव्य वस्तुहरू प्रकट भए—लक्ष्मीदेवी, पारिजात वृक्ष, ऐरावत हात्ती, चन्द्रमा, कौस्तुभ मणि, कामधेनु गाई। तीमध्ये भगवान धन्वन्तरी अमृतको कलश लिएर प्रकट भए।

उनी चार हात भएका, तेजस्वी र सुन्दर स्वरूपका थिए। हातमा अमृत कलश, शंख, चक्र र औषधीय जडीबुटी बोकेका थिए। यो प्रतीकले स्वास्थ्य, उपचार र अमरत्वको संकेत गर्छ।

धन्वन्तरी र आयुर्वेद

धन्वन्तरीलाई आयुर्वेदको प्रणेता र प्रथम चिकित्सक मानिन्छ। आयुर्वेद, जसको अर्थ ‘जीवनको विज्ञान’ हो, मानवलाई रोगमुक्त र दीर्घायु जीवन दिन मार्गदर्शन गर्दछ।

उनका शिष्य चरक र सुश्रुतले क्रमशः चरक संहिता र सुश्रुत संहिता ग्रन्थ लेखेका थिए। चरकले औषधीय उपचार र जीवनशैलीमा जोड दिए भने सुश्रुतले शल्यचिकित्सामा योगदान पुर्‍याए।

अमृत र धर्मप्रतिको समर्पण

समुद्र मन्थनबाट प्राप्त अमृत देवता र असुरबीच बाँडिनुपर्ने थियो। असुरहरूले अमृत कब्जा गर्ने प्रयास गर्दा भगवान विष्णुले मोहिनी रूप धारण गरी अमृत देवताहरूलाई दिए। यस कार्यमा धन्वन्तरीले सहयोग गरेका थिए।

यो प्रसङ्गले धन्वन्तरीको धर्म, न्याय र सत्यप्रतिको निष्ठा दर्शाउँछ। उनका योगदानले आयुर्वेदिक चिकित्सा प्रणाली र मानव कल्याणमा ठूलो प्रभाव पारेको छ।

Leave a comment