
नेपाल प्रहरीको डीएसपी भएको नाटक गर्दै मुद्दा मिलाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्लाको चौरी देउराली–८ का ४५ वर्षीय ज्ञान बहादुर लामा (उर्फ ज्ञानु तामाङ) र सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४२ वर्षीय रेवती ओझा रहेका छन्।
उनीहरू प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै पैसा लिने कार्यमा संलग्न रहेको उजुरीका आधारमा पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानपछि उनीहरूविरुद्ध ठगीको मुद्दा चलाइएको छ।
काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर हाल थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन र अन्य संलग्न व्यक्तिको खोजी गरिरहेको जानकारी दिएको छ।