
तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईँसहित ७ जनालाई शुक्रबार डिल्लीबजार कारागार चलान गरिएको छ। काठमाडौं जिल्ला अदालतले उनीहरूलाई थुनामा राख्न आदेश दिएपछि कारागार प्रशासनले उनीहरूलाई दिउँसो कारागार ल्याएको हो।
गत चैत १५ गते तीनकुनेमा राजतन्त्र समर्थक समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि दुर्गा प्रसाईं, ‘ताराराजावादी’ सरोज गौतम, ‘अनुपराजावादी’ गोकर्ण शाही, डण्डपाणि रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बरालविरुद्ध मुद्दा दायर भएको थियो।
डिल्लीबजार कारागारका प्रशासक बाबुराम आर्यालका अनुसार, काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनीहरूलाई शुक्रबार दिउँसो कारागार चलान गरिएको हो। बिहीबार राति न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ७ जनालाई थुनामा राख्न र अन्य ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ११ जेठमा दुई छुट्टाछुट्टै अभियोगपत्रमार्फत ५० र ११ जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो। तीमध्ये ११ जना अभियुक्त पहिल्यै धरौटीमा छुटेका थिए।
राजद्रोहदेखि संगठित अपराधसम्मको आरोप
प्रदर्शनमा संलग्न ५० जनाविरुद्ध राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधजस्ता गम्भीर मुद्दा लगाइएको छ। चार जना बालबालिकाविरुद्ध बाल अदालतमा छुट्टै मुद्दा चलाइएको छ।
अदालतले धरौटीमा रिहा भएका अभियुक्तहरूलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म धरौटी तोकेको छ। यता, राप्रपा नेता रविन्द्र मिश्र, सांसद धवलशमशेर राणा लगायत ११ जना हाजिरी जमानीमा छुटे पनि हालसम्म सम्पर्कमा आएका छैनन्। अदालतले मिश्र र जबरालाई फरार प्रतिवादीको रूपमा राखी पक्राउ पुर्जीको प्रक्रिया अगाडि बढाएको छ।
प्रदर्शनमा मृत्यु र क्षति
तीनकुने घटनामा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो। प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए। घाइतेमध्ये उदयपुरकी रेबिका खत्री, भोजपुरका डिल्लीप्रसाद लुइँटेल र काभ्रेका रामहरि श्रेष्ठ अझै उपचाररत छन्।
प्रदर्शनका क्रममा ५६ वटा घर, कार्यालय तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको प्रहरीको तथ्यांक छ।