
नवलपरासी सुनवल नगरपालिका–१३ घ्यूडल्लामा ६२ वर्षीय एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
पारिवारिक मनमुटावका कारण खडकबहादुर थापाले ५५ वर्षीया श्रीमती भिमकला थापामाथि खुर्पा (हसिया) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले जानकारी दिएका छन्।
मंगलबार बिहान भिमकला तरकारी बनाउन छिमेकीको घरमा टमाटर लिन गएकी थिइन्। फर्किने क्रममा थापाले खुर्पा लिएर उनलाई छिमेकीकै घर अगाडि आक्रमण गरेका थिए।
गर्दन, ढाँड र खुट्टामा गम्भीर चोट लागेपछि उनलाई बुटवल सिटी अस्पताल पुर्याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
अभियुक्त थापा ३४ वर्ष भारतमा काम गरेर फर्किएका हुन् र तीन वर्षदेखि स्थायी रूपमा घ्यूडल्लामा बसोबास गर्दै आएका थिए।
प्रहरीका अनुसार, अघिल्लो दिन नै दम्पतीबीच पारिवारिक विवाद भएको थियो।
“हत्या किन भयो भन्नेबारे थप अनुसन्धान भइरहेको छ,” डिएसपी पन्तले बताएका छन्।
थापाका दुई श्रीमती र ६ सन्तान छन्। हत्या भएकी भिमकला कान्छी श्रीमती हुन्।
कान्छीतर्फ दुई छोरा र दुई छोरी रहेका छन् — जसमा छोरा दुवै विदेशमा छन्।
जेठीतर्फ छोरा र छोरी गरी दुई सन्तान छन्, तर जेठी श्रीमती लामो समयदेखि सम्पर्कमा नरहेको बताइएको छ।