
पोखरा बचत तथा ऋण सहकारी संस्थामा ८८ करोड ७० लाख रुपैयाँको हिनामिना भएको खुलेको छ।
सहकारीको रकम अध्यक्ष, व्यवस्थापक, कर्मचारी र पदाधिकारीहरूको मिलेमतोमा दुरुपयोग गरिएको पाइएको छ।
अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सुपरभाइज मार्केट प्रमुख वेदीप्रसाद सुवेदी, सचिव दिलबहादुर केसी खत्री, कोषाध्यक्ष हिरामणि दाहाल, साथै पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चालक समिति सदस्य दोर्जे तामाङ पक्राउ परेका छन्।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पक्राउ परेकाहरूमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताइएको छ।
छानबिनका क्रममा काल्पनिक खाताहरू खोली रकम निकासी, ऋणका नाममा अपचलन, र बचतकर्ताको रकम निजी स्वार्थमा प्रयोग गरिएको पाइएको हो।
रजिस्ट्रार कार्यालयको अध्ययन प्रतिवेदनले सहकारीका पदाधिकारीहरूले पूर्वयोजना अनुसार रकम अपचलन गरेको पुष्टि गरेको छ।
रिपोर्टका अनुसार, उनीहरूले सहकारी ऐन विपरीत सहकारीका कोष र ऋण खाताहरू हिनामिना गरेका थिए। साथै, निजी सम्पत्ति आर्जनका लागि ठगी गरेको रकम प्रयोग गरिएको पनि देखिएको छ।
सहकारीको पछिल्लो सञ्चालक समिति २०७८ भदौ ६ गते सुरेन्द्रबहादुर गोदारको अध्यक्षतामा गठन भएको थियो।
सहकारीको मुख्य कार्यालय पोखरा–९ मा रहेको र कास्की जिल्लाभर कार्यक्षेत्र रहेको छ। हाल सहकारीमा ३ हजार ५६ जना शेयर सदस्य रहेका छन्।
कास्की प्रहरीले अन्य संलग्न व्यक्तिहरूलाई पनि पक्राउ गरी कानूनी दायरामा ल्याउने तयारी गरेको जनाएको छ।
यसअघि पनि पोखराकै सूर्यदर्शन, प्राइम, विन्ध्यवासिनी, मित्रमिलन, इमेज र बलिदानी बचत तथा ऋण सहकारीहरूमा समेत रकम हिनामिना प्रकरणमा अनुसन्धान भइरहेको छ।