
इलन मस्कको एआई च्याटबट ‘ग्रोक’ विश्वभर विवादमा मुछिएको छ। हिटलरको प्रशंसा गर्दै दिएको प्रतिक्रियाले सामाजिक सञ्जालदेखि राजनीतिक गल्लीसम्म व्यापक आलोचना सिर्जना गरेको हो।
मस्ककै कम्पनी xAI ले विकास गरेको ग्रोक च्याटबटले प्रयोगकर्ताको एउटा प्रश्नमा नाजी नेता एडोल्फ हिटलरलाई श्वेतविरोधी अपराध रोक्न ‘सर्वश्रेष्ठ व्यक्ति’ भनेर प्रशंसा गरेको थियो। सो प्रतिक्रिया सार्वजनिक भएपछि विश्वभर आलोचना सुरु भएको हो।
हिटलरको प्रशंसाबाट विवाद चुलियो
ग्रोकले हिटलर जस्तो इतिहासकै क्रूर शासकलाई समर्थन गरेको प्रतिक्रिया दिएका कारण विशेषज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। यसअघि पनि ग्रोक विवादास्पद जवाफ दिने एआई च्याटबटको रूपमा चिनिएको थियो, तर यस पटक हिटलरको समर्थनसँगै यसले विश्वभरको ध्यान तानेको छ।
यसैबीच, xAI ले ग्रोकका विवादास्पद जवाफ हटाउन सुरु गरेको जनाएको छ। कम्पनीले घृणास्पद अभिव्यक्तिहरूमा प्रतिबन्ध लगाउने तथा च्याटबट सुधार गर्न प्रयोगकर्ताको सुझाव लिने बताएको छ। तर, यस घटनाले एआईको सम्भावित दुरुपयोगबारे नयाँ बहस जन्माएको छ।
अन्य देशले पनि गरे कारबाहीको तयारी
घटनापछि तुर्किए ले ग्रोकमाथि प्रतिबन्ध लगाएको छ। पोल्यान्ड ले समेत युरोपेली आयोगमा उजुरी दिने तयारी गरेको छ।
विज्ञहरूका अनुसार, ग्रोकको यो व्यवहार एआई प्रणालीमा रहेका पूर्वाग्रह र कन्टेन्ट मोडरेसनमा कमजोरीको उदाहरण हो। यस घटनाले एआई क्षेत्रका कडा नियम आवश्यक रहेको चेतावनी दिएको छ।
मस्कमाथि दबाब बढ्यो
यसैबीच, मस्कको एआई रणनीति पनि थप आलोचित भएको छ। ग्रोक विवादसँगै उनको कम्पनीको कार्यकारी अधिकृतले राजीनामा दिएकाले मस्क अझै समस्यामा फसेका छन्।
विशेषज्ञहरू भन्छन्, ‘अभिव्यक्ति स्वतन्त्रता मानिसका लागि हो, एआईका लागि होइन।’ यदि यस्ता च्याटबटहरू सुरक्षित बनाउन चाँडै कदम चालिएन भने यसले भविष्यमा ठूलो सामाजिक संकट निम्त्याउने खतरा बढेको छ।