
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डेनिएल मेउलीबीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा स्विस सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, अल्पकालीन र दीर्घकालीन सहयोगका सम्भावित क्षेत्र, स्विस लगानी र द्विपक्षीय सम्बन्ध सुदृढीकरणबारे छलफल भएको थियो।
स्विस राजदूत मेउलीले मन्त्री घिसिङलाई पदभार ग्रहणको अवसरमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्।
मन्त्री घिसिङले स्विस सरकारको निरन्तर सहयोगका लागि धन्यवाद दिँदै जेनजी आन्दोलनपछि गठित सरकारले चुनाव, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र सुशासनलाई प्रमुख प्राथमिकता बनाएको बताए।
घिसिङले स्विट्जरल्यान्डसँग यस क्षेत्रमा थप सहकार्यको अपेक्षा गर्दै निम्न विषयमा सहयोगको आग्रह गरे:
- विद्युतीय सवारीसाधनको प्रवर्द्धन
- घरायसी प्रयोजनमा विद्युत्लाई इन्धनको रूपमा प्रयोग गर्न प्रोत्साहन
- स्विस सुरुङ प्रविधि नेपालमा लागू गर्ने सम्भावना
- हरित हाइड्रोजन ऊर्जाको प्रवर्द्धन
- साना उद्योग स्थापनामार्फत रोजगारी सिर्जना र सीप विकास तालिम
हाल स्विस सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल निर्माण, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारीमूलक सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालनमा छन्।
राजदूत मेउलीले स्विट्जरल्यान्ड नेपालमा ऊर्जा तथा पूर्वाधार विकास क्षेत्रमा निरन्तर सहकार्य गर्न इच्छुक रहेको पुनः पुष्टि गरिन्।